क्यान्बेरा बासि डा सिताराम घिमिरेले आफ्नो छोराको ब्रतबन्धको अबसरमा आयोजना गर्नु भएको रात्रि भोजमा ब्रतबन्ध के हो र आजको युगमा, खास गरि प्रबासि नेपालीहरुकोलागि, यो कति सान्दर्भिक छ? भन्ने बिषयमा केहि तैयार गरेर आउन आग्रह गर्नु भयो। म यो बिषयको ज्ञाता नभए पनि उहाँको आग्रह टार्न नसकेकोले त्यो प्रश्नको उत्तर तिर लक्षित र सजिलैसंग ईन्टरनेटमा भेटिने सामाग्रिहरु जम्मा गरेर एउटा प्रस्तुति दिने बिचार गरे। यस क्रममा जम्मा भएका सामाग्रिहरु “हाम्रो छोरा को ब्रतबन्ध कहिले र कसरि गर्ने होला” जस्ता बिषयमा चिन्ता गरिरहनु भएका अन्य नेपाली माता-पिताहरुलाई पनि उपयोगि होला कि भन्ने बिचारले त्यो (हतपतमा तैयार गरको भएपनि) सामाग्रि यहाँ प्रस्तुत गरेको छु, पढन तल दिइएको लिङ्कमा क्लिक गर्नु होला।
यो सामाग्रिमा ब्रतबन्धको दिनमा गरिने गरेका केहि बिसंगतिपूर्ण कर्महरुलाई औल्याईएको छ। खासगरि ब्रतबन्धका दिन अध्यनकोलागि गुरुकूल जानलागेको बालकलाई उस्को काँधमाथि रहेने तिन प्रकारका ऋणको प्रतिक ३ पोयाको जनै दिएर पठाउने र गुरुकूलको अध्ययन समाप्त भए पछि पनि प्राज्ञिक पेशा लिनेहरुलाई मात्र थप जिम्मेवारि को प्रतिक अर्को ३ पोयाको जनै थपेर ब्राह्मणको उपाधि दिनु पर्ने हो। त्यसो नगरि पण्डितजि वा बटुकहरुलाई बेद पाठ गर्न लगाएर आफ्नो बालकलाई ब्रतबन्धको दिनमानै ६ पोयाको जनै दिने गरिएको छ। तर ब्रतबन्धकै दिनमा ब्राह्मण (वा क्षत्रिय वा बैश्य) बनाउनु भनेको परिक्षामा अरुलाई लेख्न लगाएर आफ्नो छोरालाई उतिर्ण भएको घोषणा गराउनु जत्तिकै बिसंगतिपूर्ण होईन र? भन्ने प्रश्न यो प्रस्तुतिमा उठाईएको छ। जनै को थप ३ पोया त बेद (बिज्ञान) मा दिक्षित भएर प्राज्ञिक पेशा समाते पछि मात्र – अरु थप ऋणको प्रतिक – दिने हो। तर यो कुरालाइ बिर्सेर ब्रतबन्धको दिनमा ‘जात स्थापित गर्ने नक्कली प्रमाणपत्रको खरिद बिक्रि गरेको जस्तो देखिने’ जुन कर्म हुने गरेको छ यस्मा अलि गहिरिएर सोच्नु पर्ने र बझ्नु पर्ने बेला आएको छ। बुझेर वा नबुझि हाम्रा पिता पूर्खाले गरि आएको बिसंगतिपूर्ण ‘कर्म’ हरुलाइ हामिले जस्ताको तस्तै दोहोर्याइरहुनु पर्छ भन्ने छैन। परम्परा मात्रै भन्दा के हामी हाम्रा सन्तानलाई प्रतिस्पर्धि र सुयोग्य बन्ने उत्प्रेरणाबाट बञ्चित गरिरहेका त छैनौं भन्ने प्रश्न तिर पनि ध्यान दिन जरुरि छ।
अब गरिने ब्रतबन्धहरुमा गर्ने-गराउने हरुलाई यो नैतिक पक्षमा पनि ध्यान पुर्याई दिनुहुन निबेदन गर्ने पनि यस प्रस्तुतिको आसय हो।तपाईहरुको निर्णय तपाईहरुकै ब्यक्तिगत बिश्वास, नैतिक धरातल र रुचिमा निर्भर छ।
त्यस्तै, गायत्री मन्त्र को अर्थ केलाउदा यो मन्त्र ले सूर्यको प्रकाश र तापको श्रोत के हो त्यस्को अन्तिम सत्यमा पुग्न मार्ग दर्शन गर भन्ने आशय राखेको देखियो। त्यसैले गायत्री मन्त्रदान गरेर हरेक दिन त्यसलाई हरेक दिन जप गर्न लगाउनुको मनसाय बिद्यार्थीलाई त्यो ब्रह्म प्रश्न संग, जुन ज्योतिर्शास्त्रमा (Astronomy) अझै पनि अनुसन्धान भइरहेका छन, सुरु देखिनै आत्मसात गराउनु र लागातार स्मरण गराइ राख्नु हो भन्ने पनि राय दिइएको छ। आजकल चलेको मन्त्रदान बिधिले त यो ब्रह्म प्रश्नको महत्ततालाई बुझेको नै देखीदैन। यो मन्त्र त लुकाएर/छोपेर कानमा साउतिमारेर (सुद्र वा महिला ले नसुनुन भनेर) होइन कि पूर्ण प्रकाशित हुने हिसाबले सबैका छोरा-छोरिलाई समान हिसाबले दिनु पर्ने हो।
हाम्रा संस्कार, चलन र ब्यबहारमा रहेका यस्ता त्रुटिहरु लाई केलाएर समसामयिक सुधार गर्नु आबश्यक देखिएको छ।
त्यसैले यदि हामी हाम्रो संस्कार र संस्कृतिमा गर्ब गर्छौं, यस्लाई मायाँ गर्छौं र जोगाई राख्न चाहन्छौं भने यिनिहरुमा रहेका बिकृतिहरु, अन्धबिश्वासहरुलाई हटाऊन जरुरि छ र तिनिहरुलाई हाम्रा छोरा-छोरिले प्राप्त गरेका साना-ठुला सफलताको उत्सबसंग जोडन जरुरि छ। हाम्रा संस्कृति र संस्कारलाई परिमार्जन गरि तिनिहरुमा भएका राम्रा पक्षहरुको जगेर्ना गर्न सके, बिकृत उत्प्रेरणा कारक पक्षहरुलाई चिनेर हटाउन सके उत्कृष्ट नागरिक निर्माणमा ठुलो योगदान हुने छ। आउनुस यसमा पनि बहस सुरु गरौं।
पुरा प्रस्तुतिको लागि यहाँ क्लिक गर्नुहोस— ->: ब्रतबन्ध के हो? (तपाईको कम्प्युटरमा फाइल आउने छ)
अथवा यहाँ क्लिक गर्नुहोस —>: ब्रतबन्ध के हो? (फाइल यहि खुल्ने छ तर गायत्री सुन्न सकिने छैन)